काठमाडौँ, ५ असार । काठमाडौँको कीर्तिपुरमा रहेको झन्डै सात करोड रुपैयाँको जग्गा किर्ते गरेर बेच्ने पाँच जना पक्राउ परेका छन् ।
२४ वर्षदेखि जापानमा बस्दै आएकी जग्गाधनी शान्तादेवी लोहनीको नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर उनको नाममा रहेको ११ आना दुई पैसा जग्गा किर्ते गरी अर्कैलाई बेच्ने पाँच जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दार्चुलाको मालिकार्जुन गाउँपालिकाका महावीर चन्द, सिन्धुपाल्चोकको मेलम्चीका गणेशबहादुर खनाल, सोलुखुम्बुको थुलुङ दुधकोसीका बाबुराम कार्की, नुवाकोटको तारकेश्वर गाउँपालिकाका प्रेमप्रसाद खनाल र काठमाडौँको काभ्रेस्थलीकी डासीमाया श्रेष्ठ रहेका छन् । उनीहरूले जापानमा रहेकी जग्गाधनी शान्तादेवी लोहनीको मृत्यु भएको र उनको मृत्युपछिको हकवाला श्रीमान् तारानिधि लोहनी भएको भन्दै शान्तादेवीको जग्गा नक्कली तारानिधि लोहनीको नाममा नामसारी गरेका थिए । नामसारी भएको जग्गा उनीहरूले भक्तपुरकी सुनिता कर्माचार्यलाई २०७७ सालमै बिक्री गरिसकेका थिए ।
सक्कली जग्गाधनी शान्तादेवी लोहनीले नेपाल आएको बेला गएको जेठ १३ गते मालपोत कार्यालय कलङ्कीमा गएर आफ्नो जग्गाको बायोमेट्रिक गर्ने क्रममा २०७७ सालमै जग्गा बिक्री भएको पाइएको थियो । पीडित शान्ताको उजुरीको आधारमा सीआईबीले जग्गा किर्तेमा संलग्न पाँच जनालाई पक्राउ गरेर आइतवार सार्वजनिक गरेको हो ।