मोरङ, ३० असार । मोरङको बेलबारीमा बिहान जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवम् कोपिला चुडालका अनुसार हात्तीको आक्रमणबाट बेलबारी –८ बाँसबारीकी ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको हो ।
उहाँका अनुसार अमिनासहित ३५ वर्षीया बन्दना राजवंशी आफ्नै घरनजिकको खेतमा पानी लगाउन गएका बेला हात्तीले अमिनालाई आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते हुनुभएको अमिनालाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल पठाइएको थियो । उपचारका क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
वडा नं. ८ को बाँसबारी पूर्वपश्चिम राजमार्गबाट दक्षिणको गाउँ हो । राजमार्ग दक्षिण तर्फ डेढ किलोमिटर मात्र जङ्गल पर्छ । जङ्गलबाट गाउँ पसेर अमिनालाई हात्तीले आक्रमण गरेपछि स्थानीय त्रसित भएका छन् । स्थानीयका अनुसार पूर्व पश्चिम राजमार्गको मोरङ खण्डमा पर्ने जङ्गल क्षेत्रमा केही दिन यता जङ्गली हात्ती घुमिरहेका छन् ।