काठमाडौँ, १९ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् ।
बिहीवार नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने बताएका हुन् ।
उनले दलहरूको गठबन्धनले देश बनाउन नसकिने बताए । उनले जति धेरै राजनीतिक दलहरू हुन्छन् उति नै अस्थिरता, राजनीतिक विचलन र वैदेशिक हस्तक्षप हुने बताए ।
देशलाई बनाउने हो भने नेपालमा थोरै बलिया राष्ट्रिय शक्तिहरूको निर्माण गर्नुपर्ने उनको भनाइ छ । महासचिव पोखरेलले स्वतन्त्र व्यक्तिले देश बनाउन नसक्ने भन्दै उनीहरू राजनीतिमा सफल हुन चाहे संस्थागत प्रक्रियामा जोडिनुपर्ने बताए ।
उनले भने, ‘दुनियाँमा कहीँ पनि गठबन्धनले देश बनाएको, दलहरू मिलेर देश बनाएको भन्ने कुरा हामीले सुन्दैनौँ । देश बनाउनका लागि राष्ट्रिय शक्ति चाहिन्छ । गठबन्धन राष्ट्र निर्माणका लागि सजिलो हुनै सक्दैन । आज देशको राजनीतिलाई गठबन्धनतर्फ लाने कोसिस भएको छ, यो राष्ट्र निर्माणको बाटो होइन । प्राविधिक रूपमा जित हासिल गर्नका लागि गठबन्धन सफल भयो होला तर त्यसका माध्यमबाट देश बन्न सक्दैन । जति धेरै राजनीतिक दल त्यति धेरै अस्थिरता । जति धेरै राजनीतिक दल त्यति धेरै वैदेशिक हस्तक्षप । यो नेपाली राजनीतिले भोगिरहेको यथार्थ हो ।’