काठमाडौँ, १२ असार । पेट्रोलियम पदार्थको भाउ बढेको निहुँमा जथाभाबी मूल्य वृद्धि गर्नेलाई कारबाही हुने भएको छ ।
रुस-युक्रेन युद्धलाई देखाएर जथाभाबी भाउ बढाएका व्यापारीले पछिल्लो समय पेट्रोलियम पदार्थको भाउ बढेको निहुँमा आफूखुशी मूल्य बढाएका छन् । तर, हरेक दिन बजार अनुगमन भइरहे पनि पेट्रोलियम पदार्थको भाउ बढेकाले कारबाही हुन सकेको थिएन । अब भने सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएकाले बजार अनुगमनमा कडाइ गर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
विभागका निर्देशक हरि पङ्गेनीले जथाभाबी भइरहेको मूल्यवृद्धिलाई नियन्त्रणमा लिन आजैदेखि अनुगमन टोलीको सङ्ख्या बढाएर बजार अनुगमन हुने जानकारी दिए । त्यसका लागि जनशक्ति पनि थपिएको छ । अहिले हेरक दिन विभागका तीन-चार टोली बजार अनुगमनमा खटिएका छन् । अब यसमा थप दुई-तीन टोली थपेर अनुगमनलाई बढाउने उनले बताए ।







