Logo

‘जनजाति र दलित समुदायबाट म माथि धेरै साइबर हमला भयो’



काठमाडौँ, १९ पुस । नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले आफूमाथि जनजाति समूहबाट सबैभन्दा बढी साइबर आक्रमण हुने गरेको उल्लेख गरेकी छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले आफूमाथि जनजातिबाट धेरै साइबर आक्रमण भएको उल्लेख गरेकी हुन् ।

उनले एउटा अनुसन्धान टिमले साइबर आक्रमण, साइबर हिंसा र साइबर ह्यारेसमेन्टका समबन्धमा आफूमाथि लामो समय लगाएर अनुसन्धान गरेको बताएकी छन् ।

उनले उक्त रिपोर्टमा मगर, तामाङ, राई, लिम्बु जस्ता जनजाति समुदाय र विश्वकर्मा, परियार, नेपाली जस्ता दलितहरुबाट आफूमाथि साइबर हमला हुने गरेको तथ्य खुलासा गरेकी हुन् ।

‘पछिल्ला दुई वर्षमा म सबैभन्दा बढी साइबर हमलामा परेकी रहेछु । हुन त सबै प्रकारका पेशा, वर्ग, जातजाति, लिंग र सबै क्षेत्रमा बस्ने व्यक्तिहरूले व्यक्तिगत रूपमा अपशब्द प्रयोग गरेर गालीगलौज गरेको देखिन्छ । तर केही विषयमा अनुसन्धानकर्ता पनि आश्चर्य चकित हुनुहुन्थ्यो,’ उनले भनेकी छन्, ‘मलाई सोसल मिडियामा सबैभन्दा धेरै आक्रमण गर्ने खासमा जातीय हिसावले मगर, तामाङ, राई, लिम्बु जस्ता जनजाती समुदायका व्यक्तिहरू रहेछन् । विश्वकर्मा, परियार, नेपाली जस्ता दलित समुदायका व्यक्तिहरू रहेछन् ।’

त्यस्तै उनले लैङ्गिक हिसाबले महिलाहरू, महिलाका नाम र महिलाको प्रोफाइल फोटो राखेका नक्कली आईडिहरूबाट समेत साइबर हमला हुने गरेको बताएकी छन् ।

‘मेरो काम र म सँग असम्बन्धित व्यक्तिहरू पनि ठूलो संख्यामा व्यक्तिगत गालिगलौजमा आएका रहेछन् । मलाई यो रिपोर्टले कानूनी उपचार खोज्न बाध्य बनाउँदैछ । मैले यसको उपचार खोजिन भने सायद म भन्दा पछाडीका बहिनीहरू र छोरीहरू यस्तो प्रकारको सिकार झनै हुनेछन्,’ झाँक्रीले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्