Logo

जनताका समस्यालाई समाधान गर्न नयाँ ढङ्गले काम गरिरहेको छु: प्रधानमन्त्री



विराटनगर, २५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका समस्या समाधान गर्न नयाँ ढङ्गले काम गर्न थालेको बताएका छन् ।

समाजवादी मोर्चा नेपाल प्रदेश समितिद्वारा आज आयोजित ‘प्रदेशस्तरीय सन्देशसभा’ को उद्घाटन गर्दै उनले जनताका समस्यालाई तत्काल सम्बोधन गर्न प्रधानमन्त्री कार्यालयबाट ‘हेलो सरकार’ कार्यक्रम सञ्चालन भएको जानकारी दिए ।

हेलो सरकार कार्यक्रमबाट जनताका समस्या समाधान हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले सरकार सामाजिक न्याय र सामाजिक सुरक्षाका विषयमा गम्भीर भएर लागेको बताए । सामाजिक सुरक्षा कोषमा हाल तीन लाख ५० हजार वैदेशिक रोजगारमा रहेका युवा आबद्ध भइसकेको र निकट भविष्यमै ४० देखि ५० लाख वैदेशिक रोजगारमा रहेका युवा आबद्ध हुने जानकारी दिँदै उनले भने, “सरकार सामाजिक न्यायका लागि निरन्तर काम लागिरहेको छ ।”

मिटर ब्याजीजस्ता नागरिकताका समस्या समाधान गर्न सरकार निरन्तर लागि परेको प्रधानमन्त्री दाहालको भनाइ छ । सरकारले वेथिति, विकृति र भ्रष्टाचारको क्षेत्रमा निडरताका साथ काम गरिहेको बताउँदै उनले भने, “सन्देशसभाले सरकारलाई नयाँ शक्ति प्राप्त गर्न मद्दत गरेको छ ।” जनताका समस्या र टिप्पणी सुन्नलाई हेलो सरकार २४ घण्टै खुला रहेको बताउँदै प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सरकारले काम गरिरहेको स्पष्ट पारेका थिए ।

प्रधानमन्त्री दाहालले भारत भ्रमणमा जाँदा नेपालको हितमा धेरै काम भएको भन्दै सरकार विगतको भन्दा फरक ढङ्गले काम गरिरहेको चर्चा गरेका थिए ।

उनले छिमेकी राष्ट्र चीनसँगको व्यापार घाटा कम गराउन कृषि र पशुपालनको क्षेत्रमा काम गर्ने भन्दै संयुक्त राष्ट्रसङ्घको सम्मेलनमा जाँदा सेतो हिमाल कालो भइरहेको र यसबाट विश्व समुदायलाई जलवायु परिवर्तन गम्भीर असर परिरहेको भनि जानकारी गराउने बताए । प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियालाई अन्तिम रुप दिन लागेको जानकारी दिँदै सो विषय महत्त्वपूर्ण र दूरगामी रहेको धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्