काठमाडौँ, १४ पुस । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जनताको असन्तोष क्रमश: निराशाबाट विद्रोहमा परिणत हुन थालेको बताएका छन् ।
उनले सरकार र राजनीतिक दलहरूले सच्चिएर अब पनि सुशासन कायम गर्न नसके जनताले विकल्प खोज्न सक्ने बताएका हुन् ।
शनिबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता केसीले तत्काल बेथिति र विधिहीनताको अन्त्य गर्न पहल लिनुपर्ने धारणा राखेका थिए ।
‘हरेक दिन तीन हजार युवा बेरोजगारीले विदेश जान बाध्य छ । हरेक दिन २-४ जनाको लास देश फर्केर आइरहेको छ,’ बैठकमा केसीले भनेका थिए, ‘हिजोमात्रै बालकुमारी दुई युवाले जसरी ज्यान गुमाए, यसले केही त संकेत गर्दैछ, हामीले यसलाई बेलैमा बुझ्न सकेनौँ भने भोलि ठूलो क्षति हुनसक्छ ।’
बालकुमारी घटनाले जनताको असन्तोष, निराशाबाट क्रमश: विद्रोहतिर अघि बढेको देखाउने उनको भनाइ छ । ‘देशमा भ्रष्टाचार छ, नागरिकले सरकार, राजनीतिक दल वा नेता कसैलाई पनि ढुक्कसँग विश्वास गर्न सकेको छैन । बेथिति र विधिहीनतामात्रै देखिरहेको छ,’ केसीले अघि भने, ‘त्यस्तो बेथिति, भ्रष्टाचार र विधिहीनताको अन्त्य गर्न नसक्ने हो भने जनता विरोधमा उत्रिन पनि तयार छन् ।’
उनले समयमा नसुध्रिएर क्षति बेहोर्न तयार हुनुपर्ने भन्दै पार्टीलाई आगामी महासमिति बैठकबाट रूपान्तरण गरेर अघि बढ्नुपर्ने बताए ।
नेता केसीले बैठकमा मन्त्रीहरूले सरकारका मन्त्रीहरूले प्रगतिका नाममा मिथ्यांकमात्रै प्रस्तुत गरेको आरोप लगाए । ‘मन्त्रीहरूले प्रगति त सुनाउनुभयो, तर यो केवल मिथ्यांकमात्रै छ । सरकारमा सबैभन्दा ठूलो पार्टीको कुनै उपस्थिति नै देखिएको छैन,’ उनले भने, ‘बरू एकपछि अर्को अपराधीहरूलाई छुटकारा दिने कुरामा कांग्रेस मुकदर्शक भएको छ ।’







