काठमाडौँ, ३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले जनताको चाहना भए संघीय संसद्बाट फिर्ता भई आन्दोलनलाई अघि बढाउने बताएका छन् ।
आइतबारदेखि बसेको पार्टी केन्द्रीय समिति बैठकपछि मंगलबार निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुसँग उनले आन्दोलन अघि बढ्दै गयो र जनताको चाहना भयो भने राप्रपा प्रदेशमा मात्र नभई प्रतिनिधिसभाबाट पनि फिर्ता भएर आन्दोलनलाई अझ सशक्त बनाएर अघि जाने बताएका हुन् ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशमा मात्र होइन, अन्य तहहरुमा समेत संविधानसँग सहकार्य गरिरहेको छ । अहिले हामीले तत्काल प्रदेशमा रहेका हाम्रा सदस्यहरु फिर्ता लिने कुनै निर्णय गरेका छैनौं,’ उनले भने, ‘तर आन्दोलन अघि बढ्दै गयो र जनताको चाहना भयो भने राप्रपा प्रदेशमा मात्र होइन, प्रतिनिधिसभाबाट पनि फिर्ता भएर आन्दोलनलाई अझ सशक्त बनाएर अघि जान सक्ने सम्भावना छ ।’
उनले समान विचारधारा राख्ने पार्टी, व्यक्ति, संघ संस्थालाई सहकार्यको लागि आहृवानसमेत गरेका थिए ।
‘राप्रपाले आजको बैठकबाट नै समान विचारधारा राख्ने पार्टी, व्यक्ति, संघ संस्थालाई सहकार्यको लागि आहृवान गरेको छ । समान विचार राख्ने शक्ति र संघसंस्थालाई आफ्नो आफ्नो ठाउँबाट आन्दोलन गर्न, वातावरण गर्न र सहकार्यको लागि आहृवान गर्दछु,’ उनले भने, ‘समान धारा भएकाहरुलाई मिलेर जानुको विकल्प छैन, एकले अर्काको खुट्टा तान्ने काम बन्द गरौं ।’







