Logo

जनताको जनजीविकासँग जोडिने गरी काम गर्न रास्वपाको निर्देशन



चितवन, ३० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेता तथा कार्यकर्तालाई जनताको दैनिक जनजीविकासँग जोडिने गरी काम गर्न निर्देशन दिएको छ ।

यही फागुन २७ गतेदेखि जिल्लाको सौराहामा जारी पार्टीको आन्तरिक प्रशिक्षणका क्रममा सहभागी नेताहरुलाई उत्पादन केन्द्रित रणनीति बनाएर काम गर्न निर्देशन दिइएको हो ।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सभापति रवि लामिछानेले जनताको दैनिक जीवनसँग जोडिने गरी काम गर्न सबै तहका नेतृत्वलाई निर्देशन दिएका हुन् ।

उनले उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने गरी सङ्गठनले काम गर्नुपर्ने बताएको लामिछानेका निजी सचिव प्रकाश सिग्देलले जानकारी दिए । उनका अनुसार सभापति लामिछानेले सङ्गठनलाई चलयमान बनाउन स्थानीयस्तरसम्म सङ्गठन विस्तार आवश्यक रहेको उल्लेख गरेका थिए ।

आगामी स्थानीय तहको निर्वाचन र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउने गरी तल्लो तहबाट काम गर्न जरुरी रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्