Logo

जनताको विश्वास जगाउने पत्रकारिता गर्नुपर्छ: कार्की



विराटनगर, २४ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताप्रति विश्वास जगाउने पत्रकारिता गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय पत्रकारिता दिवस तथा पुरस्कार एवं सम्मान कार्यक्रम-२०८० को उपलक्ष्यमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा उनले जनतामा आस्था एवं विश्वास बढाउनुका साथै पत्रकारिता पेशलाई सत्यतथ्यका आधारमा अगाडि बढाउनुपर्ने तर्क गरेका थिए ।

सो अवसरमा राससकर्मी चन्द्रकला न्यौपाने भण्डारी, राजेश विद्रोही यादव, सोमनाथ अधिकारी सुसेली र सटेन्द्र जवेगुलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

मुख्यमन्त्री कार्कीले यस दिवसले नेपालको पत्रकाररिता क्षेत्रलाई सुधार्दै जनतामा सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरेका थिए ।

उनले कानुन निर्माण गरी प्रदेश सञ्चार प्रतिष्ठान बनाउने र यसको माध्यमबाट पत्रकारिता क्षेत्र बलियो तथा सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि गर्नुका साथै यस पेशाप्रति आकर्षण बढाउने प्रतिबद्धता जनाएका थिए ।

उनले संविधान दिवस, गणतन्त्र दिवस र प्रदेश स्थापना दिवसजस्ता महत्वपूर्ण दिनहरुमा समाजमा योगदान गर्ने प्रदेशका पत्रकारलाई आगामी दिनमा सम्मान गर्ने जानकारी दिए ।

जनताको जनादेश, संविधान र कानुनको माध्यमबाट संसद्भित्र छलफल गरी प्रदेशको सामूहिक पहिचानको आधारमा ‘कोशी’नामकरण गरिएको मुख्यमन्त्री कार्कीले स्पष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्