काठमाडौँ, १७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली राजनीतिमा जनताप्रतिको उत्तरदायी नेतृत्वका साथै बलियो राष्ट्रियताका लागि निष्ठाका खाँचो रहेको बताएका छन् ।
पार्टी कार्यालयमा बडादसैँ, तिहार, नेपाल संवत् र छठका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष लिङ्देनले मुलुकमा इमान र त्यागको राजनीतिले मात्र देश विकास र जनतालाई समृद्धिको बाटोमा लैजान सकिने बताए ।
उनले निकट भविष्यमा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा जनताले राष्ट्रवादी शक्तिलाई मतदान गर्ने विश्वास व्यक्त गरे । निर्वाचनमा जनताले गर्ने निर्णयबाट नेपाल र नेपालीको मुहार फेर्ने बताउँदै उनले चुनावको दिन राष्ट्र निर्माणमा ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताएका हुन् ।







