
काठमाडौँ, ८ मङ्सिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रलाई मरेको प्रेतको संज्ञा दिँदै नेपालीले वाक्क, दिक्क भएर फ्याँकेको शक्ति फेरि फर्कन नसक्ने दाबी गरेका छन् ।
शुक्रवार पार्टी मुख्यालय च्यासलमा राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले कतिपय देशहरूले विभिन्न सम्झौताका कारण राजतन्त्र मानेको भए पनि नेपालमा राजनीतिक, वैचारिक, सैद्धान्तिक कुनै हिसाबले पनि राजतन्त्र हुनै नसक्ने तर्क गरेका हुन् ।
उनले बिहीवार दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनप्रति सङ्केत गर्दै एउटा मरेको प्रेतको पछाडि नलीखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही मानिस लागेको टिप्पणी गरेका थिए । युवा सङ्घ नेपालको प्रदर्शन भने देशलाई सङ्कटबाट जोगाउनका लागि भएको भन्दै ओलीले धन्यवाद दिए ।
उनले भने, ‘नेपालीले हेर्दाहेर्दा वाक्क, व्याक्क, दिक्क भएर १५ वर्षअघि नै राजतन्त्र फ्याँकेका हुन् । राजनीतिक रूपले, वैचारिक रूपले, सैद्धान्तिक रूपले, कुनै हिसाबले पनि नेपालमा राजतन्त्र हुनै सक्दैन । चेतना नै नभएकाहरूले राजतन्त्र मान्छन् । नागरिक सर्वोच्चता स्वीकार नगर्ने, एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने पनि चेतना हो र? त्यो त मुर्खता हो नि । कतिपय देशहरूले विभिन्न सम्झौताका कारणले राजतन्त्र मानेका छन् । हाम्रो देशमा राजतन्त्र काम लाग्दैन भनेर नेपालीले फालेका हुन् । राजाले केही पनि गरेनन् । राजा भएर बस्ने, दुनियाँलाई दु:ख दिने बाहेक के गरेँ राजाले? मरेको प्रेतको पछाडि नलीखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही लागेका छन् ।’







