Logo

जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्नुपर्छ: प्रचण्ड



काठमाडौँ, १ वैशाख । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न निर्देशन गरेका छन् ।

पार्टी र सरकारका काम कारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुआत गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले जनताको सम्बन्धलाई थप विस्तार र व्यवस्थित गर्नुपर्ने बताएका हुन् ।

उनले भने, “सरकार र पार्टीको कामलाई योजनाबद्ध र व्यवस्थित गर्न तयार भएको कार्यविधिअनुसार आजबाट भेटघाटको सुरुवात भएको छ । सामान्य किसानदेखि कार्यकर्तासम्मले आफ्नो प्रधानमन्त्री भेट्ने वातावरणका लागि बनेको यस कार्यविधिलाई यान्त्रिक नबनी कार्यान्वयनमा आवश्यक कला र लचकता अपनाउँदै व्यावहारिक रुप दिन आग्रह गर्दछु ।”

उनले अब पार्टीभित्र नेताको मन जितेर नेता बन्ने प्रणालीको अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउँदै जनता र कार्यकर्ताको मन जित्ने नै नेता बन्ने बताए ।

उनले भने, “अब जनता र कार्यकर्तातिर फर्केर मात्र पार्टी बन्छ । पार्टी हामी सबै मिलेर बनाउनु नै छ । पार्टी बनाउने राजनीति, विचार र संस्कृतिमा गयौँ भने पार्टी बन्न ढिलो पनि हुन्न ।”

प्रधानमन्त्री दाहालले जतिसुकै चुनौती भए पनि वर्तमान सरकारलाई सफल बनाएरै छाड्नेमा आफूहरुले सङ्कल्प लिएको र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

उनले पार्टीका नेताहरुलाई निर्देशन दिँदै भने, “लेखौँ, बोलौँ र प्रतिक्रियावादी प्रतिक्रान्तिकारीको प्रतिरोध गरौँ । हामी सबैले आफ्नो भूमिका पूरा ग¥यौँ भने हाम्रो तागत ठूलो छ ।”

प्रतिक्रिया दिनुहोस्