Logo

जनतासँग गरेका वाचा पाँच वर्षभित्र पूरा गर्छौं: खड्का



सुर्खेत, ३० असार । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका वाचा पूरा गर्ने बताएका छन् ।

उपप्रधानमन्त्री खड्काले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भए पनि निर्वाचनका बेला जनतासँग गरिएका वाचा पूरा गरेरै छोड्ने बताएका हुन् ।

गृह जिल्ला सुर्खेत आइपुगेका उपप्रधानमन्त्री खड्काले आज सुर्खेतको पूर्वी क्षेत्र गुर्भाकोट-७ स्थित गोकुलपुरमा इलाका प्रशासन कार्यालयको उद्घाटन गर्दै देशको प्रतिकूल आर्थिक अवस्थामा पनि विकास-निर्माणका कामहरु अघि बढिरहेको बताए ।

उनले जनताको अपेक्षाअनुसार वर्तमान सरकारले काम गरिरहेको जिकिर गर्दै देशको प्रतिकूल आर्थिक अवस्थामा पनि समग्र कर्णालीका महत्वपूर्ण विकास योजना अघि बढाइएको बताएका छन् ।

उपप्रधानमन्त्री खड्काले कर्णाली करिडोर र भेरी करिडोर लगायतका कर्णालीको समृद्धिसँग जोडिएका ठूला सडक योजना निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारीसमेत दिए । उनले २० वर्षभित्र भेरी किनारमा आधुनिक र नमूना सहर निर्माण गरेर भेरीगङ्गा उपत्यका नमूनाको आधुनिक सहर निर्माणको काम अघि बढेको उल्लेख गर्दै त्यो सहर नयाँ पुस्तालाई नासोका रुपमा हस्तान्तरण गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्