काठमाडौँ, १७ पुस । नेकपा (माओवादी केन्द्र)ले पार्टीले सञ्चालन गरेको चारमहिने ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’ले कार्यकर्तामा थप उत्साह र जनतामा आशा जगाएको जनाएको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले निर्वाचनका समयमा मात्रै नभई अन्य समयमा पनि माओवादी जनताको बीचमा आउँछन् भन्ने अभियानबाट पुष्टि भएको जिकिर गरेका हुन् ।
“अभियान सफल भएको छ, टोल कमिटीदेखि सङ्गठन निर्माण भएका छन्, पार्टी तथा सङ्गठन सक्रिय भएको छ”, उनले भने, “पार्टीबाट पलायन हुने क्रम रोकिएर पुराना नेता कार्यकर्ता पुन: जोडिएका छन्, पार्टी प्रवेशको लहर चलेको छ ।”
अभियानले पार्टीलाई रुपान्तरण गरेर एकताबद्ध बनाएको उल्लेख गर्दै उपाध्यक्ष सापकोटाले नेता, कार्यकर्ता र जनतामा नयाँ आशा र उत्साह पैदा भएको बताए । “जनताको आशा माओवादी पार्टीसँगै रहेको पाइएको छ, जनताले अभियान निरन्तरताको माग गरेका छन्”, उनले भने ।
रुपान्तरण अभियानका क्रममा पार्टी, सङ्गठन तथा मोर्चामा रहेको अन्तरविरोध सतहमा आएको जनाउँदै प्रवक्ता सापकोटाले पार्टी विधानअनुसार चल्नुपर्छ भनेर कार्यकर्ताले नेतृत्वको ध्यानाकृष्ट गराएका बताए । “पार्टीको नीति, निर्देशन नेतृत्व तहबाटै कार्यान्वयन हुनुपर्छ भनेर कार्यकर्ताले जोड दिनुभएको छ”, उनले भने ।
देशव्यापीरुपमा सञ्चालित अभियानको पालिका, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश तहबाट बृहद् समीक्षासहित प्रतिवेदन बनाउने तयारी भइरहेको जानकारी दिँदै उपाध्यक्ष सापकोटाले आसन्न केन्द्रीय समिति बैठकमा अभियानका बारेमा समीक्षा हुने बताएका हुन् ।
“पार्टीले पहिचान र पक्षधरतालाई प्रस्ट पार्नुपर्छ भन्ने कार्यकर्ताको मत छ”, अभियानका क्रममा कार्यकर्ता र जनताले ध्यानाकर्षण गराएको विषय उल्लेख गर्दै उनले भने, “पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले थालेका सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई थप सशक्त बनाउनुपर्ने जनताको माग छ ।”
माओवादी संस्कार र संस्कृतिप्रति पार्टी किन उदासीन भएको हो भनी जनताबाट प्रश्न उठेको उनको भनाइ छ । “संस्कार र संस्कृतिप्रति माओवादीको स्पष्ट र सुझबुझपूर्ण दृष्टिकोण थियो, अहिले उदासीन भएको हो कि भन्ने प्रश्न जनताको तहबाट आएको छ”, उनले भने ।
फरक प्रसङ्गमा उपाध्यक्ष सापकोटाले वर्तमान सरकारका कामले जनतालाई उत्साहित बनाएको बताए । प्रधानमन्त्री दाहालले आर्थिक विकासलाई प्रमुख ‘एजेन्डा’ बनाउनुभएको उल्लेख गर्दै उनले कूटनीतिक क्षेत्रमा सरकारले सफलता प्राप्त गरेको बताएका हुन् ।







