काठमाडौँ, १४ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर सरकारको आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन् ।
आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । जेठ १५ गते (भोलि) सरकारले आगामी आर्थिक वर्षका बजेट संसदमा पेश गर्दै छ ।
अर्थमन्त्री महतले बजेट समग्र जनता र देशलाई केन्द्रित गरेर आउने बताए । बजेट कार्यान्वयनमा पनि सरकारले विशेष जोड दिने उनको भनाइ थियो । कार्यान्वयनलाई नै महत्व दिएर बजेट आउने र त्यसैलाई मध्यनजर राखेर सरकार अघि बढ्ने अर्थमन्त्री महतले बताए ।
उनले बजेट जतिसुकै राम्रा भए पनि कार्यान्वयनमा नगए त्यसको कुनै अर्थ नहुने भएकाले सरकारले बजेट कार्यान्वयनको पक्षमा जोड दिने बताएका हुन् ।
अर्थमन्त्री महतले भने, ‘समग्र जनतालाई केन्द्रित गरेर, देशलाई केन्द्रित गरेर सबै पक्ष, पछाडि परेका क्षेत्र, समूह, वर्ग, लिंग सबैलाई मध्यनजर राखेर बजेट आउँछ । हामीले कार्यान्वयनमै जोड दिएका छौं । कार्यान्वयन अत्यन्तै महत्वपूर्ण विषय हो । र, जतिसुकै राम्रा कुराहरु भए पनि कार्यान्वयनका विषयमा हामी गम्भिर भएनौं भने समस्या आउँछ । परिणाम आउँदैन। त्यो कुरालाई मध्यनजर राखेर नै के-कस्ता सुधारका आवश्यक्ता छ? त्यसलाई हामी महत्व दिन्छौं ।’