काठमाडौँ, १६ फागुन । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले आफ्नो पार्टी सरकारबाट नबाहिरिने बताएका छन् ।
पार्टीको भातृ सङ्गठन ‘विद्यार्थी जनमत सङ्घ’को आज कोटेश्वरमा भएको केन्द्रीय बैठक तथा प्रशिक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राउतले जनमत पार्टीका लागि अहिले सरकार छोड्नुपर्ने परिस्थिति नरहेको बताए । उनले भने, “अहिले सरकारबाट बाहिरिने कुनै त्यस्तो परिस्थिति बनेको छैन । अरू पार्टीको माग पूरा नभएर बाहिरिएका होलान ।”
अध्यक्ष राउतले सरकारमा सामेल भएका दलहरु फेरिने भए पनि वर्तमान नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकार नफेरिने उल्लेख गरे । उनले आगामी राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गर्ने स्पष्ट पारे ।







