Logo

जनमाेर्चा एक्लै भए पनि प्रतिपक्षमा बस्छ: केसी



काठमाडौँ, २६ पुस । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षले नै सरकारको समर्थन गरेपछि देश झनै सङ्कटमा जानसक्ने आशङ्का व्यक्त गरेका छन् ।

उनले सरकारलाई खबरदारी गर्ने प्रमुख प्रतिपक्षले सरकारलाई समर्थन गरेको भन्दै देश झनै सङ्कटमा जानसक्ने आशङ्का व्यक्त गरेका हुन् ।

मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चा एक्लै भए पनि प्रतिपक्षमा रहने बताए । उनले आफ्ना गल्ती पन्छाउने र एउटा दललाई सरकारबाट निकालेर आफू सरकारमा बस्न सबै दल एक ठाउँमा भएको हुनसक्ने बताए ।

उनले भने, ‘नेपालमा आज विचित्र के भयो भने भएभरका सबै सरकारमा सामेल हुने, सरकारलाई समर्थन गर्ने भनेर लागेका छन्, यहाँभन्दा हाइसन्चो अरू के हुन्छ । सत्तापक्षमा बस्नेलाई यहाँभन्दा आनन्द के हुन्छ? यो कुन किसिमको समर्थन हो । मैले बुझ्न सकिनँ । आफ्ना गल्ती पन्छाउन र एउटालाई सरकारबाट पन्छाएर आफू आउने खेल त होइन यो । यसो गरेर देश बन्छ? सरकार चल्छ? यस खालको दृश्य डरलाग्दो छ ।’

प्रतिक्रिया दिनुहोस्