काठमाडौँ, ८ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बिहान वीर अस्पतालमा उपचाररत पूर्वजनमुक्ति सेनाका सेक्सन कमान्डर भक्त रानाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
काभ्रेको महाभारत गाउँपालिका-६ का रानालाई भेटेर प्रचण्डले उपचारका लागि अब खर्चको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
“उपचार खर्च, परिवारका लागि पार्टीले सहयोग गर्छ । सरकारसँग पनि कुरा गर्छौँ,” उनले भने, “खर्चको दुःख हुन अब दिन्नँ, दिइन्न ।” प्रचण्डले रानाकी श्रीमती वर्षा राना र उपचारमा संलग्न चिकित्सकसँग उनको उपचार र आर्थिक अवस्थाबारे जानकारी लिएका हुन् ।
मकवानपुरको झुरझुरेमा भएको दोहोरो भिडन्तका बेला उनको टाउकोमा गोलीको छर्रा लागेको थियो । उक्त चोट फेरि बल्झिएपछि खुट्टामा इन्फेक्सन देखिएको थियो । टाउकोमा नसा ‘ब्लक’ भएपछि रानाका दुवै खुट्टा शल्यक्रिया गरेर फाल्नुपरेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।