Logo

जनयुद्धको नाममा माओवादीले हिंसा गर्यो: अध्यक्ष ओली



काठमाडौँ, २४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादीले जनयुद्ध नगरेको बताएका छन् । छविलाल कार्कीको स्मृति दिवसको कार्यक्रममा उनले कसैको स्वार्थमा जनतामाथि खेलवाड भएको बताए ।

“जनयुद्धको नाममा माओवादीले जुन हिंसा गर्यो, त्यो कुनै जनयुद्ध थिएन् । निहित स्वार्थका लागि केही व्यक्तिहरुको स्वार्थका लागि कसैको इसारामा, कतैको योजनामा नेपाली जनतामा खेलवाड गर्ने हिसाबले नेपालमा ल्याएर लागु गर्न खोजिएको थियो,” उनले भने, “वृहत शान्ति सम्झौता भएर हतियारको प्रयोग छोडेँ भनेपछि र लडाकुहरुको व्यवस्थापन क्यानटलमेन्टमा गएर गरिसकेपछि अमानवीय ढंगले कमरेड छविलाल कार्कीको हत्या भएको हामी सबैलाई थाहा छ ।”

उनले मान्छे मार्नबाहेक अर्को उद्देश्य नभएको समेत आरोप लगाए । संगठित हतियारका रुपमा नागरिकमाथि सत्ता टिकाउनका लागि हत्या भइरहेको पनि उनले बताए ।

प्रचण्डले गल्ति भएको भनेर स्वीकार गर्नुपर्ने उनको जिकिर छ । “स्वीकारोक्ति छैन । अहंकार छ । दम्भ छ । मान्छे मारेको छ । लज्जाबोध छैन । अफठ्यारो केही लाग्दैन । हिनताबोध छैन,” उनले भने । प्रचण्डले जनतासँग माफी माग्नुपर्ने ओलीको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्