Logo

जनयुद्धको शान्तिपूर्ण रूपान्तरणसँगै क्रान्तिको स्वरूप फेरियो: प्रचण्ड



काठमाडौँ, १९ पुस । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको शान्तिपूर्ण  रूपान्तरणसँगै क्रान्तिको स्वरूप फेरिएको बताएका छन् ।

बिहीबार दिउँसो रामेछापको बेथान पानीघाटमा आयोजित २७ औं बेथान वीरता दिवस, शहिद स्तम्भ उद्घाटन तथा शहिद परिवार सम्मान कार्यक्रममा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्रीले भने, “जनयुद्ध देशको मुक्ति र परिवर्तनका निम्ति महान् विद्रोह थियो । त्यतिबेला हामीसँग ठूलो शक्ति थिएन, तर महान् विचार थियो, ऐतिहासिक लक्ष्य थियो । त्यसका आधारमा नेपालको क्रान्तिले गुणात्मक उचाइ प्राप्त ग¥यो । त्यसले नै देशमा महान् परिवर्तन सम्भव भएको हो ।’’

“हामी अहिले पनि क्रान्तिमै छौं । क्रान्ति सकिएको छैन, तर क्रान्तिको स्वरूप फेरिएको छ ।,’’ उनले भने, “हामी समाजवादको लक्ष्यमा छौं । त्यसका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेका छौं । यो क्रान्तिको शान्तिपूर्ण मोर्चा हो ।’’

प्रधानमन्त्रीले वर्तमान सरकार देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको र भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणले १० हजार मेगावाट विद्युत निर्यातको ग्यारेण्टी भएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्