Logo

जनसहभागितामा कनकाईमा अक्सिजन प्लान्ट सञ्चालन



फायल तस्बिर

झापा, १९ पुस । झापाको कनकाई नगरपालिका–३ स्थित कनकाई नगर अस्पतालको हाताभित्रको अक्सिजन प्लान्टको नगरप्रमुख राजेन्द्र पोखरेलले सोमबार उद्घाटन गरेका छन् । नगरपालिका, विभिन्न सङ्घसंस्था र व्यक्तिगत रूपमा सहयोग सङ्कलन गरी रू एक करोड ६६ लाख पाँच हजार ७०६ को लागतमा प्लान्ट स्थापना गरिएको थियो ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीका बेला नगरप्रमुख पोखरेलले व्यक्तिगत रूपमा रू १० लाख उपलब्ध गराएर अक्सिजन प्लान्ट स्थापनाको अभियान सञ्चालन गरेका थिए । “मैले कोरोना बेलामा अक्सिजन अभावमा अकालमा ज्यान गुमाउनुपरेकाकोबारे विभिन्न सञ्चारमाध्यममा पढेँ–देखेँ”, नगरप्रमुख पोखरेलले भने, “त्यसैले आफैँले सहयोग गरेर प्लान्ट स्थनापको अभियान चलाएँ, धेरैले सहयोग गर्नुभयो, त्यसैको परिणाम प्लान्ट सञ्चालनमा आएको छ ।”

कोरोनाकालदेखि हालसम्म नगरपालिकाले नगरवासीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउँदै आएको उनले बताए । यहाँबाट उत्पादन हुने अक्सिजन आवश्यकताका आधारमा जिल्लाका विभिन्न अस्पतालमा सहुलियत दरमा उपलब्ध गराउन सकिने उनले बताए । उक्त अभियानका क्रममा विभिन्न सङ्घसंस्था र व्यक्ति गरी एक सय १७ दाताबाट रू ५८ लाख ४३ हजार चार सय १३ सङ्कलन भयो । नगरपालिकाबाट रू एक करोड सात लाख दुई हजार दुई सय ९२ लगानी गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए ।

टर्कीबाट आयात गरिएको प्लान्टको शुद्धता ९५ प्रतिशतभन्दा बढी रहेको अक्सिजन प्लान्टका प्राविधिक प्रवल वाग्लेले बताउ । यो धेरै सुरक्षित रहेको उनको भनाइ छ । यो प्लान्टबाट एक पटकमा १२ सिलिण्डर तीन घण्टाको अवधिमा भर्न सकिन्छ । प्लान्टको क्षमता दैनिक १६० सिलिण्डर छ । कार्यक्रममा अक्सिजन प्लान्ट सञ्चालन गर्न सहयोग गर्ने दातालाई सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्