काठमाडौँ, २४ असार । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा बिचौलिया प्रयोग गरेको विषयमा छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिले मंगलबारबाट काम सुरु गर्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार समितिको सहजीकरण बैठक बोलाएका थिए ।
उक्त बैठकमा मंगलबारबाट काम सुरु गर्ने सहमति भएको हो । बजेट निर्माणमा बिचौलियाको प्रयोग गरेको विषयमा सार्वजनिक भएपछि गत बुधबार प्रतिनिधि सभाले ११ सदस्यीय संसदीय छानबिन समिति गठन गरेको थियो ।
समितिमा नेकपा एमालेका ४, कांग्रेस र माओवादी केन्द्रका २-२ र एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एक-एक सांसद सदस्य रहेका छन् । समितिलाई छानबिनका लागि १० दिनको समय दिइएको छ । समितिको सचिवमा सुरेन्द्र अर्याललाई तोकिएको छ । आरोप लागेपछि नै शर्माले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् ।







