काठमाडौँ, ५ साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थप भएको छ ।
सभामुख अग्नि सापकोटाले म्याद थपका लागि राखेको प्रस्ताव प्रतिनिधि सभाले पारित गरेको हो ।
यसअघि समितिलाई १० दिनका लागि दिएको समय शुक्रवार सकिँदैछ । तोकिएको समय सीमाभित्र समितिले काम पूरा गर्न नसकेपछि सभामुखले सात दिनको समय थप गरेका छन् ।
संसदीय समितिले आजसम्म पूर्वमन्त्री शर्मासहित, सचिव, सहसचिव, बजेट निर्माणमा संलग्न कर्मचारी, राजस्व विभाग र भन्सार विभागका महानिर्देशक, पहिलो पटक समाचार लेख्ने पत्रकार लगायतसँग बयान लिएको छ । तर समितिले अहिलेसम्म बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्ने काममा अनधिकृत व्यक्तिको संलग्नता पुष्टि हुने कुनै प्रमाण फेला पार्न सकेको छैन ।







