काठमाडौँ, १५ साउन । जनार्दन शर्मा पुन: अर्थमन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकटका एक पोलिटब्युरो सदस्यका अनुसार माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि नाम पठाइसकेको छ ।
शर्माको शपथको कार्यक्रम प्रधानमन्त्री तथा राष्ट्रपतिको कार्यालयले तय गर्ने उनले बताए ।
आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गरेको आरोप लागेपछि उनले गत असार २२ गते राजीनामा दिएका थिए । तर यसबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन बुझाएको थियो ।







