मेचीनगर, १७ कार्तिक । सामाजिक व्यक्तित्व राजन चिमरियाले यस बर्ष पनि सामाजिक कार्य गरेर आफ्नो जन्मोत्सव मनाएका छन् ।
नेपाल डेरी एसोसिएशनका बरिष्ठ केन्द्रिय उपाध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) मेचीनगरका नगर अध्यक्षसमेत रहेका चिमरियाले शहिद परिवारलाई गाई र मृतकका परिवारलाई नगद सहयोग गरेर ५० औं जन्मोत्सव मनाएका हुन् ।
चिमरियाले बिहीवार पर्न गएको जन्मोत्सवका अवसरमा झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ मा बसोबास गर्दै आएको शहिद प्रेम उप्रेतीको परिवारलाई ६५ हजार रुपैयाँ बराबरको उन्नत जातको गाई र शहिद उप्रेतीका पिता गंगा उप्रेती बिरामी रहेकाले औषधिका लागि नगद ५ हजार एकसय रुपैयाँ प्रदान गरेका थिए ।
शहिद प्रेम उप्रेतीको २०५८ सालमा तेह्रथुमको बगाले घटनामा मृत्यु भएको थियो । रितिका डेरी उद्योगका सञ्चालकसमेत रहेका चिमरियाले शहिद परिवारलाई कृषि उत्पादनमा जोड्ने उद्देश्यले जन्मोत्सवमा गाई प्रदान गरेको बताए । सोही कार्यक्रममा आफ्नो उद्योगबाट उत्पाददित सामाग्रीसमेत शहिद प्रेमका पिता गंगा र आमा लक्षिमादेबी उप्रेतीलाई प्रदान गरेका थिए ।
त्यस्तै जन्मोत्सवकै अवसरमा चिमरियाले मेचीनगर-१० मा गत कार्तिक १० गते दुर्घटनामा परेर मृत्यु भएका नरेश राजवंशीको परिवारलाई समेत आर्थिक सहयोग गरेका छन् । मृतक नरेशकी छोरी नाइसा राजवंशीको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले बालिक संरक्षित कोषका लागि ५१ हजार र काजक्रिया खर्चबापत ५ हजार एकसय रुपैयाँ चिमरियाले आर्थिक सहयोग गरेका हुन् ।
संरक्षित कोषको लागि ५१ हजार रुपैयाँको चेक र नगद ५ हजार एकसय रुपैयाँ नरेशकी श्रीमती बिमला र छोरी नाइसा राजवंशीसहित परिवारलाई प्रदान गरेका छन् । चिमरियाले त्यहाँ पनि उद्योगबाट उत्पादित दुग्ध सामाग्रीसमेत प्रदान गरेका छन् ।
चिमरियाले प्रत्येक बर्ष आफ्नो जन्मोत्सव र बैवाहिक बर्ष गाठका अवसर पारेर फरक-फरक बिषयमा केन्द्रित रहेर सामाजिक कार्य गर्दै आएका छन् ।
उनले ३० बर्षको उमेरदेखि प्रत्येक बर्ष जन्मोत्सव र बैवाहिक बर्षगाठमा कृषक, बिपन्न, आगलागि पिडीत, वाढीपिडीतलगायतलाई सहयोग गरेर आफ्नो जन्मोत्सव र बैवाहिक बर्षगाठ मनाउँदै आएका छन् । आउँदै गरेको बैशाख २७ गतेको यसबर्षको बैवाहिक बर्ष गाठका लागि पनि नयाँ कार्य गर्ने चिमरियाले बताएका छन् ।
उक्त कार्यक्रममा नेकपा माओवादीका केन्द्रिय सल्लाहकार मुकुलचन्द्र राजवंशी (मोहनबा), पार्टीका मेचीनगर नगर सचिव ज्ञानेन्द्र घिमिरे, झापा जिल्ला सदस्य खगेन्द्र सिग्देल, पार्टीका मेचीनगर-१२ का अध्यक्ष पदम सुनुवार, मेचीनगर-१३ का अध्यक्ष पुरुषोत्तम सिग्देललगायतको उपस्थिति रहेको थियो ।






