रुपन्देही, १३ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले जनताको बहुदलीय जनवादका कारण नेपाली कम्युनिष्ट आन्दोलनले नयाँ उचाइ प्राप्त गरेको बताएका छन् ।
जननेता मदनकुमार भण्डारीको ७१औँ जन्म जयन्तिका अवसरमा प्रेस चौतारी नेपाल रुपन्देहीले आज तिलोत्तमामा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले मदन भण्डारीले विचारको भण्डार सुम्पिएर जानुभएको उल्लेख गर्दै जनताको बहुदलीय जनवाद नभएको भए नेपालमा कम्प्युनिष्ट आन्दोलनले यति उचाइ प्राप्त गर्न नसक्ने उल्लेख गरेका छन् ।
पाँचौँ महाधिवेशनमा पार्टीको नीति र सिद्धान्त कस्तो हुने भन्ने विषयमा व्यापक छलफल पश्चात मतदानमार्फत जनताको बहुदलीय जनवाद पारित भएको स्मरण गर्दै उहाँले जबजको धेरै ठूलो अर्थ भएको चर्चा गरे । “हामी अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्छौँ । अभिव्यक्ति स्वतन्त्रताले गल्ती गर्नबाट जोगाउँछ”, उनले भने ।
जनताको अनुमोदनमा मात्रै पार्टी शासन सत्तामा रहन सक्छ भन्ने कुरामा स्पष्ट रहँदै आवधिक निर्वाचनमा जाने मान्यतालाई जबजले आत्मसात गरेको बताए ।







