Logo

जब कान्सको रेड कार्पेटमा युवती कपडा खोलेर चिच्याउन थालिन…



फ्रान्स, ८ जेष्ठ । विश्वको प्रतिष्ठित फिल्म फेस्टिभल कान्स २०२२ को तेस्रो दिन उत्सवका साथ मनाइँदै थियो । सोही दिन पहिलोपटक स्क्रिनिङ हुन लागेको हलिउड फिल्म थ्री इयर्स अफ लङ्गिङ हेर्न मानिसहरू तयार हुँदै थिए । अचानक एकजना युवती आफूले लगाइरहेको कपडा फुकालेर चिच्याउन थालिन् ।

उनको शरीरको माथिल्लो भागमा युक्रेनको झण्डाको झल्को दिने गरी रंग लगाइएको थियो । जहाँ अंग्रेजीमा हामीलाई बलात्कार गर्न बन्द गर भनेर लेखिएको थियो भने कम्मरमुनि रातो रंगले पोतिएको थियो । एकै छिनमा उनलाई त्यहाँका सेक्युरिटीले कार्यक्रम स्थलभन्दा पर लगे। फेरि पहिलेको जस्तो चहलपहल हुन थाल्यो ।

विदेशी सञ्चारमाध्यमका अनुसार उनी युक्रेनी अभियन्ता हुन् । लामो समय चलेको रूस-युक्रेन युद्धमा सयौँ युक्रेनी महिलाको बलात्कार भएको तथ्यांक बाहिर आएको छ । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युद्धको क्रममा धेरै बालबालिकामाथि पनि यौन हिंसा भएको बताएका छन् ।

कान्समा युद्धसँग सम्बन्धित फिल्मलाई पनि विशेष महत्त्वका साथ प्रदर्शन गरिएको छ । महोत्सवको तेस्रो दिन मन्तास केदरभिसियसको निर्देशनमा बनेको वार डकुमेन्ट्री मारियोपोलिस २ प्रदर्शन गरिएको थियो । फिल्म मेकर, मानवशास्त्री तथा पुरातत्त्वविद् लिथुआनियाका नागरिक मन्तास गत अप्रिल २ मा रूसी सेनाद्वारा मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्