अस्ट्रेलिया, १८ साउन । समूह चरणको आफ्नो अन्तिम खेलमा दक्षिण कोरियासँग बराबरीमा रोकिएपछि दुई पटकको च्याम्पियन जर्मनी फिफा महिला विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।
बिहीबार पर्थ रेक्ट्याङगुलर रंगशालामा सम्पन्न खेलमा दक्षिण कोरियासँग १-१ को बराबरीमा रोकिएपछि जर्मनीको चुनौती समूह चरणबाटै समाप्त भएको हो ।
खेलको छैटौँ मिनेटमा चो सु-ह्युनले गरेको गोलबाट दक्षिण कोरियाले अग्रता बनाएको थियो । तर, ४२औँ मिनेटमा एलेक्सान्ड्रा पोपले गोल गर्दै जर्मनीलाई खेलमा फर्काएकी थिइन् । बराबरीमा रोकिएसँगै तीन खेलबाट चार अंक जोडेको जर्मनी समूह ‘एच’को तेस्रो स्थानमा सीमित बन्यो । समान खेलबाट एक अंक जोडेको दक्षिण कोरिया भने पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको हो ।
यो समूहबाट कोलम्बिया समूह विजेताको रुपमा र मोरोक्को समूह उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेका छन् ।
बिहीबारै भएको खेलमा शीर्ष स्थानको कोलम्बियाविरुद्ध १-० को जित निकाल्दै मोरोक्कोले जर्मनीलाई पछि पार्दा उपविजेताको रुपमा अन्तिम-१६ मा स्थान बनाएको हो । मोरोक्कोको जितमा अनिसा लह्मारीले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल निर्णायक बन्यो ।
जितसँगै तीन खेलबाट ६ अंक जोडेको मोरोक्को दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गर्यो । मोरोक्कोसँगको हारका बावजुद ६ अंक नै जोडेको कोलम्बिया भने समूह विजेताको रुपमा प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।