काठमाडौँ, १९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गरी प्रभावित क्षेत्रका मानिसको जीवन सहज बनाउनु आजको प्रमुख चुनौती रहेको बताएका छन् ।
मंगलवार ललितपुरमा इसिमोड स्थापनाको ४० औँ वार्षिकोत्सव समारोहमा नव निर्मित भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालमा हिउँ पग्लिने, हिमाल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले तहसनहस बनाएको बताए । उनले जलवायु परिवर्तनजन्य घटनाका कारण देशको अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानी पुगेको जिकिर गरेका हुन् ।
उनले नेपाल जस्ता मुलुकले हरित गृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनमा शुन्य सरह योगदान गरेपनि जलवायु परिवर्तनको प्रभाव अत्याधिक रहेको बताए । उनले जलवायु परिवर्तनको प्रभावलाई न्युनिकरण गर्न तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाल लगायत जलवायु परिवर्तनको प्रभावको मारमा परेका मुलुकहरु रहेको बताएका छन् । उनले अहिलेको विश्व मानव सिर्जित जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वातावरणीय प्रदुषणका कारणले संकटमा रहेको पनि बताए ।
उनले भने, ‘अहिलेको विश्व मानव सिर्जित जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वातावरणीय प्रदुषणका कारणले संकटमा छ । पहाडी संवेदनशील भूबनावट र कमजोर आर्थिक, सामाजिक कारणहरुले गर्दा हिन्दकुश हिमालय जस्ता पर्वतीय हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव अझ व्यापक छ । यो अवस्थामा जलवायु परिवर्तनको प्रभाव न्युनिकरण गरेर यस क्षेत्रका मानिसको जीवन सहज बनाउनु आज हाम्रा सामु ठूलो चुनौती छ ।’
उनले अगाडि भने, ‘आज हाम्रा सामु हिमालमा हिउँ पग्लिएको, हिमाल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले गर्दा जलवायु परिवर्तनजन्य घटनाका कारण अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानी नोक्सानी भोगिरहेको छ । नेपाल जस्ता मुलुकले हरितगृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनमा शून्य सरह योगदान गरेपनि यहाँ जलवायु परिवर्तनको प्रभाव अत्याधिक छ ।’







