Logo

जलवायु परिवर्तनको मुद्दामा सरकारी र गैरसरकारी क्षेत्र एक हुनुपर्छ: मन्त्री महतो



काठमाडौँ, ११ पुस । वन तथा वातावरणमन्त्री डा.वीरेन्द्र महतोले जलवायु परिवर्तनको मुद्दामा सरकार र गैरसरकारी क्षेत्र एकजुट भएर अगाडि बढ्न जरुरी रहेको बताएका छन् ।

न्युज एजेन्सी नेपालले आज यहाँ आयोजना गरेको ‘विश्व जलवायु सम्मेलनको उपलब्धि र आगामी कार्यदिशा’ विषयक गोष्ठीमा उहाँले सरकारी र गैरसकारी संस्था एक भएर जलवायु परिवर्तनको मुद्दामा अगाडि बढ्नुपर्ने बताएका हुन् ।

उनले भर्खरै दुबईमा सम्पन्न कोप-२८ मा नेपालले राखेको ‘एजेन्डा’ले विश्वको ध्यानाकर्षण भएको बताए । उनले आफ्ना मुद्दालाई कोपमा नेपालले दरो रुपमा प्रस्तुत गरेको उल्लेख गरेका हुन् ।

मन्त्री डा.महतोले जलवायु परिवर्तनका कारण अब आउने दिन विश्वका लागि ठूलो चुनौतीको विषय भएकाले यसबाट जोगिनका लागि सरकारले विशेष योजना बनाएर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । “जलवायु परिवर्तनको मुद्दामा विदेशीको मुख ताकेरमात्र बस्न हुँदैन”, उनले भने । जलवायु परिवर्तनको क्षेत्रमा आउने पैसा कार्ययोजना नहुँदा खर्चमा समस्या भएको उनको भनाइ थियो ।

उनले नेपालले आफूसँग भएको प्रकृतिलाई समृद्धितर्फ जोड्न लाग्नुपर्ने उल्लेख गरेका थिए । जलवायु परिवर्तनको मुद्दामा एउटै आवाज लिएर अगाडि बढ्न जरुरी रहेको उनको भनाइ थियो ।

त्यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्विज्ञ सल्लाहकार डा.गङ्गालाल तुलाधरले कालापत्थरमा भएको मन्त्रिपरिषद्को बैठक जलवायु परिवर्तनका बारेमा नेपालले विश्वलाई सन्देश दिन खोजेको उल्लेख गरेका हुन् । संविधानका तीनवटा अनुसूचीमा विपद् व्यवस्थापनको कल्पना गरिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्