काठमाडौँ, २४ कार्तिक । यूएईमा हुने जलवायु सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नेपालले सहभागिता जनाउने भएको छ ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप-२८) यूएईको दुबईमा मंसिर १४ देखि २६ गतेसम्म हुँदैछ । वन तथा वातावरण मन्त्रालयले उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागितालाई प्रभावकारी बनाउन तयारी थालेको छ ।
कोप-२८ मा नेपालको तयारी अवस्था र सुझाव सङ्कलन कार्यक्रममा प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ डा.पपुलर जेन्टलले सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको सहभागिता हुनेबारे जानकारी दिए । प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रीलगायत विज्ञसम्मिलित रहेको प्रतिनिधिमण्डलले सम्मेलनमा भाग लिनेछ ।
सबै क्षेत्रबाट सुझाव सङ्कलन गरी नेपालले प्रस्तुत गर्ने स्थितिपत्रलाई अन्तिम रुप दिइने विकास व्यवस्थापन विज्ञ जेन्टलले बताए । सम्मेलनको पूर्व सन्ध्यामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमण गरेका थिए । यसले नेपालको जलवायुका मुद्दालाई धेरै उचाइमा पुर्याएको विज्ञको भनाइ छ ।







