काठमाडौँ, २२ भदौ । अर्थमन्त्री डा.प्रकाशशरण महतले तेस्रो देशसँग व्यापारिक सम्बन्ध विस्तार गर्न महोत्तरीको जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गर्न आफू सकारात्मक रहेको बताएका छन् ।
काठमाडौँमा शुक्रवार जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री महतले तेस्रो देशमा सामान आयात/निर्यात गर्न गर्नुपर्ने तयारी र अहिलेको अवस्थाका बारेमा थप जानकारी लिएर त्यससम्बन्धी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेको सङ्घका अध्यक्ष जीतेन्द्रकुमार महासेठले जानकारी दिए ।
जलेश्वर भन्सार कार्यालयलाई अविलम्ब मुख्य भन्सार कार्यालयमा स्तरोन्नति गर्न नेपाल-भारत दुवैतर्फ आवश्यक पूर्वाधार तयार रहेका बारेमा अर्थमन्त्रीलाई जानकारी गराइएको र जवाफमा सम्बद्ध निकायसँग थप छलफल गरी आवश्यक काम गर्ने प्रतिबद्धता जाहेर भएको अर्थमन्त्रीलाई उद्धृत गर्दै महासेठले जानकारी दिए ।
‘अर्थमन्त्रीज्यूसँग जलेश्वर भन्सार नाकाको स्तरोन्नति, मधेसका व्यापारी व्यवसायीका समस्या, प्रदेश राजधानी जनकपुरमा चलिरहेको रेलबाट लिन सकिने व्यापारिक लाभका विषयमा समेत कुराकानी भएको छ’, महासेठले भने, ‘यस विषयमा फेरि दुवै पक्ष छलफलमा जुट्ने समझदारी छ । आशा छ उहाँले निजी क्षेत्रका चिन्ता, चासो र मधेसमा व्यापारिक गतिविधि बढाउन आवश्यक काम गर्न सहयोग गर्नुहुनेछ ।’







