Logo

जसपा छिट्टै सरकारमा सहभागी हुने



ललितपुर, १७ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई दिएको छ ।

बालकुमारीस्थित केन्द्रीय कार्यालयमा शनिबार बसेको बैठकले सरकारमा सहभागी हुने मन्त्रीबारे निर्णय गर्ने अधिकार समितिलाई प्रदान गरेको हो । सरकारको विस्तार पुस २९ गतेपछि हुने भएकाले राजनीतिक समितिले नै मन्त्रीको अन्तिम नाम टुङ्गो लगाउने छ । सरकारमा सहभागिता र निर्वाचनको समीक्षा गर्न सो पार्टीले पुस १८ र १९ गते राजनीतिक समितिको बैठक आह्वान गरेको छ ।

पार्टीका प्रवक्ता मनिष सुमनले शनिबार बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम राजनीतिक समितिले तय गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनको समीक्षा गर्न शिवलाल थापा नेतृत्वको तीन सदस्यीय समिति गठन गरिएको छ ।

समितिलाई राजनीतिक समितिको बैठकले अनुमोदन गरेपछि कार्य प्रारम्भ गर्नेछ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो पार्टीले समर्थन गरेको उल्लेख गर्दै उहाँले सरकारमा छिट्टै सहभागी हुने स्पष्ट पार्नुभयो । सरकारको न्यूनतम साझा कार्यक्रमका बारेमा बैठकमा छलफल हुने उहाँले बताउनुभयो । आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्