Logo

जहाज खरिद गर्नुमा मेराे निजी स्वार्थ छैन: किराँती



काठमाडौँ, २८ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको जिकिर गरेका छन् ।

बिहीवार राष्ट्रियसभा बैठकमा मन्त्री किरातीले जहाज खरिद गर्नु आफ्नो निजी स्वार्थको विषय नभएको पनि बताएका हुन् ।

उनले दुर्गम क्षेत्रमा विमानस्थलहरू बने पनि त्यस क्षेत्रमा उड्ने हवाईजहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि नै प्रश्न उठेको बताए । दुर्गम क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकोले निजी क्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित नदेखिएको मन्त्री किराँतीको भनाइ छ ।

उनले भने, ‘दुर्गम क्षेत्रमा सङ्ख्यात्मक हिसाबले धेरै विमानस्थल निर्माण भएका छन् । तर त्यस क्षेत्रमा उड्ने हवाईजहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि प्रश्न उठ्नु स्वाभाविक हो । त्यस क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकोले निजी क्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित देखिँदैन । यसै तथ्यलाई मध्यनजर गरी नेपाल वायु सेवा निगमले तीन वटा साना जाहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ । जहाज खरिद मेरो निजी स्वार्थको विषय हुँदै होइन । राष्ट्रिय आवश्यकता हो । कुन प्रक्रियाबाट खरिद गर्ने त्यो निगमकै विज्ञ र पदाधिकारीले निर्धारण गर्ने कुरा हो । आवश्यक परे सरकारले सहजीकरण मात्र गर्छ र नेपालको प्रचलित कानुनअनुसार पारदर्शी ढङ्गले जहाज खरिदको प्रक्रिया अघि बढाउन मैले निर्देशन दिइसकेको छु ।’

प्रतिक्रिया दिनुहोस्