काठमाडौँ, १० साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।
बुधबार बिहान काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको थियो ।
जहाज दुर्घटनामा निधन हुनेहरुमा कोपाइलट एस कटुवालसहित अमितमान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, आश्विन निरौला, सुदीपलाल जोशी, शर्वेस मरासैनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही, प्रिजा खतिवडा र आरिफ रेडा रहनुभएको छ ।
सरकारले जहाज दुर्घटना छानबिनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङकाअनुसार नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक सुदीप भट्टराई र श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी आयोगको सदस्य रहनुभएको छ ।
त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल आयोगको सदस्य सचिव रहने बताइएको छ । सरकारले छानबिनका लागि आयोगलाई ४५ दिनको समय दिएको छ ।