Logo

जहाज समयमा उडाउनुहोस्, नेपाली समयको बदनाम नगर्नुहोस्: पर्यटनमन्त्री



काठमाडौँ, ९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिएका छन् ।

आज वायुसेवा निगमको कार्यालय निरीक्षण गर्दै मन्त्री किराँतीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक सेकेन्डको पनि महत्त्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न निर्देशन दिएका हुन् ।

उनले निगमका जहाजहरुको दैनिक रिपोर्ट पनि पेस गर्न निर्देशन दिए । ‘कुन जहाज कतिबेला उडे? कहाँ रोकिए? के कारणले रोकिए भन्ने विषयमा विषयमा दैनिक रिपोर्ट चाहियो, म रिपोर्ट नहेरी घर जान्नँ, उनले भने । विश्वमा युद्ध लड्दा एक सेकेन्डको पनि ठूलो महत्त्व हुन्छ, तोकिएको समयमै जहाज उडाउनुहोस्, नेपाली समयलाई बदनाम नगराउनुहोसु, उनले भने ।

मन्त्री किराँतीले निगम सुधारका लागि छिट्टै आर्थिक योजना पेस गर्न र एक महिनाभित्र अनलाइनमार्फत् टिकट काट्ने व्यवस्था गर्न पनि अध्यक्ष अधिकारीलाई निर्देशन दिए ।

‘जहाज अब उप्रान्त समयमै उड्नु पर्छ, हिजो के भयो त्यो म हेर्दिनँ, जहाज स्टार्ट भइसक्यो अब रोकिनु हुँदैन’, उनले भने, ‘नकारात्मक काम गर्दिनँ, सकारात्मक काममा सधैँ साथ दिन्छु ।’

प्रतिक्रिया दिनुहोस्