Logo

जाजरकोट जीप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ११ पुग्यो



जाजरकोट, २६ मंसिर । जाजरकोटको छेडागाड नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ । सो दुर्घटनामा परी एकै वडाका सात जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गाडीका चालक भगवतीमाइ नगरपालिका-२ दैलेखका मानबहादुर रावत, सहचालक सोही नगरपालिका वडा नं ३ का वीरेन्द्र केसी र सोही वडाका अर्का अम्मर खड्का रहेका छन् ।

त्यसैगरी जारजरकोट छेडागाड नगरपालिका वडा नं ५ का दीपक अधिकारी, सोही वडाकी नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निसा अधिकारी र सोही नगर वडा नं ६ वीरबहादुर खत्रीको मृत्यु भएको नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको निजी जीप छेडागाड नगरपालिका वडा नं ३ जेवाबाट सोही नगरको वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भिरबाट खसेको थियो ।

जीपमा सवार १२ जनामध्ये छेडागाड-५ का जैभान अधिकारी गम्भीर घाइते भएका छन् । चार जना मात्र क्षमता भएको उक्त बोलेरो जीपमा १२ जना सवार रहेका थिए । घाइते जैभानको उपचारका लागि नेपालगञ्ज पठाइएको उपप्रमुख चन्द्रबहादुर थापालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्