नवलपरासी, १९ भदौ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँका अनुसार कावासोतीका-२ का ६६ वर्षीय एक महिलाको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको हो । बिरामी भएर भदौ ६ गते चितवनस्थित अस्पतालमा भर्ना भएकोमा उनको भदौ ७ गते मृत्यु भएको हो ।
चालु आर्थिक वर्षमा जिल्लामा जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको यो पहिलो घटना भएको कार्यालय प्रमुख चापागाँईले बताए ।
परीक्षण रिपोर्ट ढिलो गरी आउने हुँदा मृत्युपछि मात्र जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको उनले बताएका हुन् । उनका अनुसार गत आवमा नवलपुरमा सातमा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकोमा पाँच जनाको ज्यान गएको थियो ।
जापानिज इन्सेफ्लाइटिस पुष्टि भएका एक जनाको चितवनस्थित अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय प्रमुख चापागाँईले बताए । देवचुली नगरपालिकाकी १५ वर्षीय बालिकामा जापानिज इन्सेफ्लाइटिस देखिएको र उनको अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको उनले बताएका हुन् ।