Logo

जापान जाने लोभमा बिल्लीबाठ



काठमाडौँ, ६ माघ । चितवनका राजेन्द्र अधिकारी र मोरङ सुनवर्षी–६ का अजय राजवंशी जापानको गार्मेन्ट उद्योगमा काम गर्थे । उनीहरूसँगको सम्पर्कमा थिए धरानका मिन्चिरा चाम्रकार, ठेगाना नखुलेका ज्योति घले र कर्णकुमार दवाडी ।

यो समूहले जापानको गार्मेन्ट उद्योगमा काम गर्न लैजाने भन्दै मोरङका युवालाई लोभ्याए । जसमध्ये सुनवर्षीका अजयलाई जापान जाने युवा खोजेर पैसा सङ्कलन गर्ने जिम्मा दिइयो । अजयले आफन्तहरूमा यसको जानकारी गराएपछि सबैले धमाधम पैसा बुझाए ।

यो प्रलोभनमा जापान जान तयार भएका ४१ जनामध्ये मोरङका मात्रै ४० जना युवाको पैसा डुबेको छ । यसरी पैसा डुब्ने र ठगिनेमा अजयको सम्पर्कमा आएका मोरङका ४० जना युवा एउटै राजवंशी समुदायका छन् । जापानको हल्ला गत चैतदेखि सुरु भएको थियो । वैशाखदेखि पैसा खोज्न र जम्मा गर्न थालिएको थियो ।

राजेन्द्रले सामान्य जापानी भाषा जान्नेहरूलाई लैजान सकिने भनेपछि पैसा बुझाएका युवाले विराटनगरको इडुमार्कमा अध्ययन गरे । उनीहरूमध्ये अजयकी बहिनी विद्या, भाइ रञ्जित र रञ्जितकी श्रीमती अनुराधा पनि रहेको पीडित युवक हरि राजवंशीले बताए । जापान जाने भनेपछि अनुराधा र रञ्जित विवाह बन्धनमा बाँधिएका थिए ।

राजेन्द्रले युवालाई ठग्ने नियत राखेपछि जापान जान तयार भएका युवाले जम्मा गर्ने पैसा अजयका भाइ रञ्जित, बुहारी अनुराधा र बहिनी विद्याको नाममा जम्मा गर्न लगाए । सुरुसुरुमा राजेन्द्रको नाममा समेत पैसा जम्मा गर्न लगाइएको थियो ।

मुख्य योजनाकार भनिएका राजेन्द्र र अजयले उठेको रकम लिएर पुनः जापान गएको खुलेको छ । अजयसहित उनका भाइबुहारी रञ्जित–अनुराधा र बहिनी विद्या फरार छन् । उनीहरूले वैदेशिक रोजगार विभागमा पुस २८ गते राजेन्द्रविरुद्ध उजुरी दिएका छन् । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारसँग सम्बन्धित नभई ठगी कसुर गरेको देखिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पत्राचार गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्