काठमाडौँ, १४ वैशाख । आउँदो शनिवारदेखि कीर्तिपुर मैदानमा जिम्बाब्वेको ‘ए’ टोलीसँग हुने तीन एकदिवसीय र तीन टी-२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधवारदेखि प्रशिक्षण थालेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले जिम्बाब्वेसँग हुने एकदिवसीय र टी-२० शृङ्खलाका लागि बोलाएका २३ खेलाडीलाई समावेश गर्दै आजदेखि प्रशिक्षण थालेको हो ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टोलीले पहिलो दिन आज ब्याटिङ पक्षलाई ध्यान दिँदै प्रशिक्षण गरेको थियो । यसअघि मङ्गलवार टोलीले त्रिपुरेश्वरको दशरथ रङ्गशालामा फिटनेसको अभ्यास गरेको थियो ।