गोरखा, २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलको साझा प्रधानमन्त्रीका रुपमा आफूले पाएको विश्वासको मतले चुनौती र जिम्मेवारी दुवै थपिएको बताएका छन् ।
गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा सदरमुकाममा आजदेखि सुरु भएको ११औँ गोरखा महोत्सव एवम् प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला-२०७९ को उद्घाटन गर्दै उनले साझा प्रधानमन्त्रीका रुपमा काम गर्ने ऐतिहासिक अवसर प्राप्त भएको बताए ।
प्रधानमन्त्री दाहालले यसलाई आफूले एउटा ठूलो चुनौती र अवसरका रुपमा लिएको समेत उल्लेख गरेका छन् ।
प्रधानमन्त्री दाहालले अब देशको विकास र समृद्धिलाई गति प्रदान गर्नेसमेत बताएका छन् । उनले सार्वजनिक तथा निजी क्षेत्रको योगदान र पहल विना अर्थतन्त्रलाई गति दिन नसकिने भन्दै त्यसका लागि सहकार्य गरेर अघि बढ्ने बताए ।
प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजना, आरुघाट रोइला सडकखण्ड निर्माण, पालुङटार विमानस्थल सञ्चालन लगायतका कामलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।







