काठमाडौं, ९ जेठ । जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका एक कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ ।
पाँचथरको साविक नागी गाविस–९ निवासी ६४ वर्षीय चन्द्रकुमार घिमिरे को आज बिहान बिर्तामोडस्थित बिएण्डसी अस्पताल मा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय भोगिरहेका घिमिरेलाई जेठ ७ गते साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि मेची प्रादेशिक अस्पताल लगिएको थियो । त्यसपछि थप उपचारका लागि ओमसाई पाथीभरा अस्पताल मा भर्ना गरिएको थियो ।
स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई बिर्तामोडस्थित बिएण्डसी अस्पताल रिफर गरिएको थियो । उपचारकै क्रममा आज बिहान ३ः४५ बजे उनको मृत्यु भएको खगेन्द्रबहादुर खड्का ले जानकारी दिएका छन् ।
जिल्ला अदालत झापाको फैसलाअनुसार घिमिरेले आठ वर्ष आठ महिना एक दिन कैद सजाय भुक्तान गरिसकेका थिए । मृतकको शव हाल बिएण्डसी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।








