Logo

जीप दुर्घटना अपडेट: एकै वडाका आठसहित १२ जनाको मृत्यु



जाजरकोट, २७ मंसिर । जाजरकोटको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका-२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र अम्मर खड्का रहेका छन् ।

त्यसैगरी जारजरकोट छेडागाड नगरपालिका-५ का दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारी र घाइते जैभान अधिकारीको उपचारका क्रममा सुर्खेतस्थित प्रदेश अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका  प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले बताए ।

त्यस्तै दुर्घटनामा सोही नगर वडा नं ६ का वीरबहादुर खत्रीको पनि मृत्यु भएको छ ।

कर्णाली प्रदेश २००१च ०४२९ नंको निजी जिप छेडागाड-३ जेवाबाट सोही नगरको वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भिरबाट खसेको थियो ।

बिहेमा विवाद हुँदा ।।।

छेडागाड नगरपालिका-५ लेवाका दीपक अधिकारीको ससुराली हो झल्कुवा । साली सम्झनाको बिहेको भोज खान उनी आइतबार त्यहाँ पुगेका थिए । बिहेमा रमाइलो गर्दागर्दै आइतबार दीपक र छेडागाड नगरपालिका-४ भल्कुवाका महेश थापाको बीचमा विवाद भयो ।

विवाद बढ्दै जाँदा दीपक र महेशबीचमा कुटाकुट भयो । दीपक घाइते भए । गाउँलेहरूले झगडा छुट्याए । तर दीपकलाई उक्त झगडामा आफूलाई अन्याय भएको भन्दै सोमबार इलाका प्रहरी कार्यालय वडावनमा जाने र त्यसपछि थलह बजार गएर उपचार गर्ने भन्दै दैलेखबाट जन्ती लिएर आएको जिपबाट प्रहरी कार्यालयसम्म पु¥याइदिन आग्रह गरेका थिए ।

दीपकसँगै बिहेमा भोज खाना आएका अन्य सर्वसाधारण पनि सोही जिपमा फर्कने क्रममा उक्त जिप दशेराको भिरमा दुर्घटना भयो । उपचार र न्याय माग्न वडावन जाने दीपकसँगै अन्य बिहेभोज खाना आएका १२ जनाको मृत्यु हुन पुग्यो ।

प्रतिक्रिया दिनुहोस्