Logo

जी-२० मा रुसी राष्ट्रपति पुटिनको सहभागितालाई लिएर पश्चिमा देश विभाजित



बेलायत, १५ असार (एएफपी) । इण्डोनेसियामा हुन गइरहेको जी-२० समूहको बैठकमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी भए बैठक बहिस्कार गर्ने नगर्ने भन्ने विषयमा पश्चिमा देश विभाजित भएको छ । चक्रीय अध्यक्षात्मक प्रणालीअन्तर्गत जी–२० समूहकोे यसवर्षको नेतृत्व इन्डोनेसियाले गरेको छ ।

इन्डोनेशियाले जी-२० सम्मेलनमा भाग लिन रूसका राष्ट्रपति पुटिनलाई आमन्त्रित गरिसेको छ । इन्डोनेसियाको आमन्त्रण पछि जी–२० सम्मेलनमा रूसी राष्ट्रपति पुटिनलाई सहभागी नगराउन अमेरिकालगायत पश्चिमी मुलुकहरूले दबाब दिँदै आएका छन् । तर, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधबार भ्लादिमिर पुटिन उपस्थित भएमा नोभेम्बरमा इन्डोनेसियामा हुने जी–२० शिखर सम्मेलन बहिष्कार नगर्न सदस्य राष्ट्रका नेताहरूलाई आग्रह गरेका छन् । यसले ‘अरुलाई प्रचारको अवसर’ दिने उनले बताए ।

नाटो शिखर सम्मेलनको अवसरमा जोन्सनले म्याड्रिडमा भने, “यो अवस्थामा पुटिन जी–२० सम्मेलनमा सहभागी भएमा आश्चर्यको कुरा हुनेछ । उहाँ जानुहुनेछैन । उहाँ एक ‘बहिस्कृत’ व्यक्ति हुनुहुन्छ ।” “उहाँ जानुहुन्छ जस्तो मलाई लाग्दैन । सवाल के हो भने के हामी पश्चिमी देशहरूले जी–२० मा आफ्नो सिट खाली गरेर मञ्चलाई पूरै तर्क गर्न चीन र रूसलाई छोड्छौँ ?” “मेरो विचारमा यदि तपाईंले जी–२० जस्तो गरिमामय मञ्च खाली गर्नुभयो भने, तपाईँले अरूलाई अफवाह फैलाउने अवसर दिने खतरा बढ्न सक्छ ।”

क्रेमलिनले पुटिन नोभेम्बर १५–१६ को शिखर सम्मेलनमा सहभागी हुने जनाएको छ । सम्मेलनमा अधिकांश प्रमुख उदीयमान अर्थ व्यवस्थाहरू जस्तै इन्डोनेसियाले पनि तटस्थ स्थिति कायम राख्ने प्रयास गरेको छ र युक्रेनमा रूसको महिनौँ लामो आक्रमणको शान्तिपूर्ण समाधानका लागि आह्वान गरेको छ ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ताका लागि बुधबार कीभ गएका छन् भने उनी बिहीबार मस्को जानेछन् । उनले यसहप्ताको सुरूमा जर्मनीमा भएको जी–७ शिखर सम्मेलनमा पनि भाग लिएका थिए ।

जर्मन चान्सलर ओलाफ सोल्जले मङ्गलबार इन्डोनेसिया शिखर सम्मेलनलाई सङ्केत गर्दै जी–७ का नेताहरू ‘जी–२० सम्मेलनबाट अलग हुन नचाहेको’ उनीहरूले ‘त्यहाँ जाने’ योजना अझै बनाइरहेको बताए ।

गत अक्टोबरमा रोममा भएको जी–२० शिखर सम्मेलनमा पुटिनले भाग लिएका थिए । तर, कोरोनाभाइरस सङ्कटका कारण उक्त सम्मेलनमा उनले भिडियो कन्फरेन्समार्फत सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्