Logo

जी-२० सम्मेलनमा अल्पविकसित देशका समस्या उठान भए: अर्थमन्त्री



काठमाडौँ, ३ साउन । अर्थमन्त्री डाक्टर प्रकाशशरण महत भारतको गुजरातमा सम्पन्न जी-२० देशका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका छन् ।

बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग आफ्नो भ्रमणबारे जानकारी गराउँदै अर्थमन्त्री महतले अल्पविकसित र विकासोन्मुख देशले भोगिरहेका विभिन्न खालका समस्या तथा चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन जी-२० सम्मेलन महत्त्वपूर्ण रहेको बताएका छन् ।

‘सम्मेलनमा अल्पविकसित देशका समस्यालाई राख्ने महत्त्वपूर्ण अवसर प्राप्त भयो । अल्पविकसित देशले भोग्नुपरेको जलवायु परिवर्तनका समस्या, विश्वव्यापीरूपमा सूचना प्रविधि क्षेत्रको प्रयोगसँगै देखिएका चुनौती, डिजिटल कारोबारको व्यवस्थापन तथा यस्तो कारोबारको नियमनलगायतका विषय उठाइएका छन्’, उनले भने, ‘डिजिटलरूपमा भइरहेका कारोबारलाई कसरी व्यवस्थापन गर्ने र यसको करसँग जोडिएका विषयमा आफ्ना कुरा राख्ने अवसर पायौँ ।’

अहिले विश्वभर आर्थिक वृद्धिदर कम देखिएको र कर्जा प्रवाहसमेत घटिरहेको विषयमा जी-२० देशले पनि चासो देखाएको अर्थमन्त्री महतले बताए । त्यस्तै आफ्नो भारत भ्रमणका क्रममा विकास साझेदार र दातृ निकायसँग पनि महत्त्वपूर्ण भेटघाट भएको उनको भनाइ छ ।

‘विश्व बैंक, एसियाली विकास बैंकलगायतका दातृ निकायसँग छलफल भएको छ । भारत र चिनियाँ अर्थमन्त्रीसँगको भेटमा द्विपक्षीय लगानी, व्यापारलगायतका विषयमा छलफल भएको छ । भारतका निजी क्षेत्रका उद्योगी व्यवसायीसँग नेपालमा लगानी गर्ने विषयमा महत्त्वपूर्ण भेटघाट रह्यो’, अर्थमन्त्रीले भने ।

सम्मेलनका क्रममा आफूले जलवायु परिवर्तन र यसबाट नेपालले बेहोरिरहेको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको र जलवायु परिवर्तनका कारण सिर्जित समस्या न्यूनीकरणका लागि कसरी विकसित देशले सहयोग गर्नुपर्ने विषय उठाएको पनि मन्त्री महतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्