काठमाडौं, २३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भदौमा भएको युवा विद्रोह (जेनजी आन्दोलन) दुई दिनमै मार्गभ्रष्ट भएको टिप्पणी गरेका छन्। व्यवस्थामा रहेका त्रुटिहरू सुधार नगरी केवल चुनावमा जाने सोचले मुलुकको समस्या झन् जटिल बनाउने उनको आरोप छ।
मंगलबार राजधानीमा आयोजित राप्रपाको विरोध सभालाई सम्बोधन गर्दै लिङ्देनले जेनजी आन्दोलन केवल नेतामाथिको आक्रोश वा सरकार परिवर्तनका लागि नभएको स्पष्ट पारे। “प्रधानमन्त्री केपी ओलीलाई हटाएर सुशीला कार्कीलाई बालुवाटारमा राख्नका लागि मात्रै यो आन्दोलन थिएन,” उनले भने, “यो आन्दोलन देशमा शान्ति, स्थायित्व र युवाले आफ्नो देशमै भविष्य खोज्न सक्ने वातावरणका लागि थियो।”
लिङ्देनले विगतमा आफूले राजा र राजनीतिक दलबीच नयाँ समझदारी आवश्यक रहेको सुझाव दिए पनि दलहरूले गम्भीर रूपमा नलिएको टिप्पणी गरे। “सुध्रिएन भने भाग्नुपर्ने दिन आउन सक्छ भनेर हामीले चेतावनी दियौँ,” उनले स्मरण गर्दै भने, “तर त्यसलाई मजाकमा उडाइयो, आज देश त्यही मोडमा आइपुगेको छ।”
उनका अनुसार २०८४ को निर्वाचन २०८२ मै गरिए पनि वा केवल मान्छे फेरिए पनि समस्या समाधान नहुनेछ। “उही व्यवस्था, उही निर्वाचन, केवल व्यक्तिमात्र बदलिँदैमा देश अघि बढ्दैन,” लिङ्देनले जोड दिए।







