झापा, ७ पुष । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको म्याग्जिन र गोली फेला परेको छ।
प्रहरीका अनुसार आईतबार दिउँसो बिर्तामोड नगरपालिका–६ स्थित स्यालडाँगीको चिया बगानमा इन्सास राइफलको एक थान म्याग्जिन र मार्का थ्री राइफलका तीन राउण्ड गोली बेवारिसे अवस्थामा फेला परेको हो।
हातहतियार तथा गोलीगठ्ठा बेवारिसे अवस्थामा रहेको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले उक्त सामग्री बरामद गरेको जनाएको छ।
प्रहरीको अभिलेखअनुसार बरामद भएको इन्सास राइफलको म्याग्जिन र गोली जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय बिर्तामोडको जिन्सी भण्डार कक्षबाट लुटेर लगिएको खुलेको छ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







