झापा, २१ पुष । जेनजी आन्दोलनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, बिर्तामोडको परिसरबाट चोरी भएको मोटरसाइकलसहित एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलामको फाकफोकथुम गाउँपालिका–७ घर भई बिर्तामोड नगरपालिका–१ सिर्जना टोलमा डेरा गरी बस्ने ३९ वर्षीय बिरबहादुर दमाई रहेका छन्।
उनीले भदौ २४ गते आन्दोलनको क्रममा हराएको एक मोटरसाइकल आफ्नो डेरामा लुकाएर राखेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ। इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले गरिएको चेकजाँचका क्रममा मे–७–प (नम्बर नखुलेको) सुपर स्प्लेन्डर मोटरसाइकल बरामद भएको र सो मोटरसाइकल सामान्य नागरिकको भएको जनाइएको छ।
जेनजी आन्दोलनका क्रममा ट्राफिक प्रहरीले सञ्चालन गर्ने भवनमा गरिएको आगजनी र तोडफोडका कारण दुईवटा गाडी क्षतिग्रस्त भएका थिए भने सेतो नम्बर प्लेटका कार्यालयका चार, कर्मचारीका आठ तथा सर्वसाधारणका मोटरसाइकलसमेत हराएका थिए।
अग्नि नियन्त्रणपछि तीनवटा सेतो प्लेटका मोटरसाइकल डढेको अवस्थामा फेला परेका थिए भने चार निजी मोटरसाइकलमध्ये केही जलेको भेटिएको थियो। हराएका मोटरसाइकलमध्ये हालसम्म तीनवटा फेला परेको र छवटा मोटरसाइकल अझै बेपत्ता रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।







