झापा, ३ माघ । झापाको दमक नगरपालिका–१ स्थित सुकुम्बासी बस्तीबाट प्रहरीले लुकाएर राखिएको हतियारको पार्ट्स बरामद गरेको छ। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकको टोलीले डेकबहादुर थापाको बसोबास रहेको जस्ताको टहरामा शुक्रबार खानतलासी गरेको हो।
खोजतलासीका क्रममा टहराको भुईमा बालुवाले पुरेर राखिएको अवस्थामा बटमा १३२०४४७ नम्बर अंकित सर्ट गनको बटसहित बेसाबुत हतियारको पार्टपुर्जा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त हतियार गत २४ गते जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको अभिलेखमा देखिएको छ। बरामद गरिएको पार्टपुर्जा कानूनअनुसार सुरक्षित रूपमा इप्रका दमकमा राखिएको छ भने संदिग्ध डेकबहादुर थापाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।







